प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नारावाजी गरेको आरोपमा पक्राउ परेका धरौटीमा रिहा

काठमाडौं— टुँडिखेलमा भदौ १० गते प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरोधमा नाराबाजी गर्दा पक्राउ परेका ३ जना शुक्रबार रिहा भएका छन्।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले तीनैजनालाई जनही ९–९ हजार रुपैयाँ धरौटीमा छाडेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई ४ दिनपछि धरौटीमा रिहा गरेको हो।
टुँडिखेलमा भएको गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई मङ्गलबार र बुधबार दीपकसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको थियो।
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ ०८:३०













