News Griha :: न्यूजगृह
इन्स्पेक्टर हुँ भन्दै लुटपाट गर्ने पक्राउ

काठमाडौं— नेपाल प्रहरीको प्रहरी निरीक्षक इन्स्पेक्टर हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालका–४ का २५ वर्षीय सुमन तामाङ भन्ने मिङमार तामाङ छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, 'पक्राउ परेका निज तामाङले गएको साउन २२ गते काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौं डल्लु बस्ने तीर्थ लाल तामाङलाई आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोसाकको प्रहरी निरीक्षक हुँ भन्दै सुनको एक तोलाको सिक्री र नगद ६७ हजार लिई फरार भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।'

चोरीको सुनको सिक्री खरिद गर्ने बाग्लुङको काटेखोला गाउँपालिका–२ घर भई हाल काठमाडौं टोखा नगरपालिका–९ गोङ्गबुस्थित बाग्लुङ भगवती सुन चाँदी पसल सञ्चालन गरी बस्ने ६३ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गरिएको सूचना अधिकारी आचार्यले बताए।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २१:१२
Weather Update