News Griha :: न्यूजगृह
मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन

म्याग्दी— समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ । 

मुक्तिनाथ मन्दिर नजिकै तीन करोड ६० लाख ५२ हजार ८८ रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालयले पाँच रोपनी तीन आना क्षेत्रफल जग्गामा तीन तलाको ब्यारेक भवन, भान्छा कोठा र शौचालय निर्माण गरेको हो । 

यसअघि रानीपौवाको पुरानो धर्मशालाका चार कोठाबाट कार्यालय सञ्चालन भइरहेको थियो । रानीपौवा क्षेत्रको सुरक्षालाई ध्यान दिँदै अब नयाँ भवनबाटै कार्यालय सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । मुक्तिनाथमा प्रहरी निरीक्षकको नेतृत्वमा १३ प्रहरी कार्यरत छन् । 

अपाङ्गमैत्री भवनको भुइँ तलामा कार्यालय प्रयोजनका लागि पाँच वटा कोठा निर्माण गरिएका छन् भने पहिलो तलामा महिला र पुरुष कर्मचारीका लागि छुट्टाछुट्टै ब्यारेक छ । 

भुइँ तलामा शौचालय सुविधासहितको पुरुष र महिला हिरासत कक्षहरू छन् । माथिल्लो तलामा कार्यालय प्रमुखको आवास, सञ्चार शाखाको कार्यालय र ब्यारेकसहितका कोठाहरू छन् । कार्यालय सञ्चालनका लागि बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको उद्‌घाटन गरिसकेका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०७:२०
Weather Update