काठमाडौं— एसियन बिस्कुट इन्डष्ट्रिजलेले कोदोको बिस्कुट उत्पादन गरेर बजारीकरण सुरु गरेको छ। उद्योगले चाँडै नै भारतलगायत नेपालीको बाक्लो बसोबास रहेका मुलुकमा निर्यात गर्ने तयारी गरेको छ।
एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको छ। जसमा स्विट बिस्कुट, स्विट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभ लगायतका बिस्कुट छन्।
उद्योगले यी ब्रान्डका बिस्कुट युरोप, भारत, अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकमा निर्यात गर्दै आएको छ।
कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलित रूपमा प्रयोग गर्नसक्ने, यसले इम्युनिटी पावर वृद्धि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने उद्योगको दाबी छ। उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ कायम गरेको छ।
स्वदेशी कच्चा पदार्थको प्रबर्द्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेर विदेश निकासीको तयारी गरिएको उद्योगका प्रबन्धक आशिष् जाजूले बताए। उनका अनुसार उद्योगले पहाडी क्षेत्रमा उपलब्ध हुने मुख्य कच्चा पदार्थ कोदोको उपलब्धताका लागि किसानलाई यसको खेतीका लागि प्रोत्साहित पनि गर्ने तयारी गरेको छ।
बिस्कुटलाई सुगन्धित बनाउन र स्वादिष्ट बनाउन पहाडी क्षेत्रमै उत्पादन हुने अलैँचीको धुलो मिसाइएको जाजूले बताए। बिस्कुटलाई फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ। सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि मिसाइएको छ। कोदो र दालचिनी मधुमेहको नियन्त्रणका लागि प्रभावकारी मानिन्छ।
एसियन बिस्कुटले पहिलो चरणमा भारत निकासीका लागि प्रक्रिया सुरु गरेको छ। उद्योगले कोदोको बिस्कुटको नमुना भारत पठाएको थियो। भारतबाट राम्रो माग आएको जाजूले बताए।
जाजूले भने, ‘हामी यसलाई अन्तर्राष्ट्रिय बजारमा कस्तो प्याकेजिङमा निर्यात गर्ने भन्ने गृहकार्य गरिरहेका छौँ। भारतमा दसैँतिहार अगाडि नै निर्यात गरिसक्ने योजना छ।’ एसियनले मुख्यतया भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकमा बिस्कुटको निर्यात गरिरहेको उनको भनाइ छ।