
रूपन्देही— प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरूको बैंक खाता चेक गरिने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताए।
प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको कुँवरको भनाइ छ। ‘तपाईंहरू अर्थात् प्रहरी अधिकारीहरूको बैंक खाता चेक गरिँदैछ छिट्टै एकजना डीआईजी फस्दै हुनुहुन्छ,’ उनले भने।
महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा रहेको बताउँदै नसुध्रिए कारबाहीको भागिदार हुने बताए।
ट्राफिक प्रहरीमा १० वर्ष एउटै अफिसमा बस्ने प्रवृत्ति रहेको भन्दै अब यो स्वीकार्य नहुने उनको भनाइ छ।













