
काठमाडौं— झापामा १६ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। एकै रात छुट्टाछुट्टै स्थानमा बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलाई पक्राउ गरेको छ। त्यस्तै अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी छन्।
घटनामा संलग्न एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार घटना शुक्रबार रातिको हो। बालिकाले शनिबार जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न मध्ये ६ जनालाई पक्राउ गरेको हो।
झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार शुक्रबार राति भएको एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता देखिन्छ। दुवै घटनामा संलग्न मध्ये प्रहरीले ६ जनालाई पक्राउ गरेको उनले बताए।
प्रहरीका अनुसार अर्जुनधारा–८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको देखिन्छ। बालिकालाई घुम्न जाने भन्दै बोलाएर राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा पुर्याइएको देखिएको प्रहरीले बताएको छ।
अनिष, सरोज र केशवले सुरुमा हटियामा करणी गरेको प्रहरीको दाबी छ। त्यसपछि अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो। होटलमा होटल मालिकसहित चारजना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ। होटल सञ्चालक राजवंशी हुन्। सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन्। होटलका अर्का कामदार फरार छन्।
बलात्कारबाट पीडित भएकी बालिकाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज म्याद थप गर्ने प्रहरीको तयारी छ।













