News Griha :: न्यूजगृह
बिहे गर्ने प्रलोभन दिएर वडाध्यक्षले ५ पाँच वर्षदेखि यौनशोषण गरेको आरोप, नगरपालिकाले बनायो छानबिन समिति
रौतहटको मौलापुर– ९ का वडाध्यक्ष श्यामकिशोर साह।

रौतहट—  एकजना विवाहित महिलाले वडाध्यक्षमाथि यौनशोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ।

रौतहटको मौलापुर– ९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो।

उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएपछि मेयर रीना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। 

घटना बारे सत्यतथ्य छानबिन गरी समितिले १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेश गर्न भनिएको छ। समितिले घटनाको प्रतिवेदन पेस गरेपछि कस्तो किसिमको कारवाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।

छानबिन समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अच्छेलाल साह अधिकृत छैटौँ सदस्य छन्।

वडाध्यक्षकै गाउँकी विवाहित एकजना महिलाले आफूसँग बिहे गर्ने प्रलोभन दिएर यौनशोषण गर्दै आएको आरोप लगाएको भिडि‌ओ सामाजिक सञ्जालमा भाइरल बनेपछि मौलापुर नगरपालिकाले छानबिन समिति गठन गरेको हो।
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २१:३९
Weather Update