News Griha :: न्यूजगृह
अध्ययन र भ्रमणमा विदेशियो पौने २ खर्ब

काठमाडौं— नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ भ्रमण व्यय देखिन्छ। जसमा शिक्षा र भ्रमण दुवैका लागि विदेशिएको रकम जोडिन्छ।

केन्द्रीय बैंकका अनुसार एक वर्षमा अध्ययनमा जानेका माध्यमबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेशिएको छ।

उता, नेपालबाट विदेश घुमफिरमा जाने नेपालीले ६४ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी मुद्रा खर्च गरेका छन्। अघिल्लो आव २०७९/८० मा भ्रमण व्यय १ खर्ब ४४ अर्ब रुपैयाँ थियो। जसमध्ये शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड थियो। उक्त आव घुमफिरमा जानेले ४४ अर्ब रुपैयाँ खर्च गरेका थिए।

एक वर्षमा विदेशी पर्यटकबाट भने नेपालले ८२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आव यस्तो आम्दानी ६२ अर्ब ३० करोड रुपैयाँ थियो।

उता, खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा देखिन्छ। नेपाल भित्रिने भन्दा बाहिरिने रकम धेरै हुँदा सेवा आय घाटामा थियो । तर, सेवा आय घाटा भने कम भएको छ।

राष्ट्र बैंकका अनुसार खुद सेवा आय २०७९/८० मा ७९ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:४६
Weather Update