News Griha :: न्यूजगृह
रोल्पाको जेल्वाङमा स्वास्थ्य चौकी बनाउन चन्दा सङ्कलन

रोल्पा— रोल्पाको जेल्वाङस्थित स्वास्थ्य चौकी बनाउन स्थानीयले चन्दा सङ्कलन अभियान थालेका छन् । सुनछहरी गाउँपालिका–७ जेल्वाङमा उक्त अभियान सुरु गरिएको हो । 
सुनछहरीका पूर्व अध्यक्ष आशबहादुर पुनको नेतृत्वमा उक्त अभियान थालिएको हो । यसका लागि सदरमुकाम लिवाङ, सुलिचौरलगायतका बजार क्षेत्रमा अभियन्ता खटाइएको छ । 

हाल जेल्वाङ गाउँमा रहेको स्वास्थ्य चौकी अव्यवस्थित र मापदण्डअनुसारको नभएकाले सेवा लिन समस्या भएकाले नयाँ भवन निर्माणका लागि आफूहरूले सहयोग सङ्कलन गरिरहेको लिवाङमा सहयोग सङ्कलन गरिरहेका बालकुमार पुनले बताए । विकासमा जनताको सहभागिता भए अपनत्व पनि बढ्ने भएकाले अभियान दीर्घकालीन सोचका साथ अघि सारिएको पुनको भनाइ छ । 

भवन निर्माणका लागि जग्गा खरिद र अन्य व्यवस्थापनका लागि १३ लाख ५० हजार रुपैयाँ खर्च भएकाले उक्त सहयोग अभियान थालिएको अभियानका संयोजक आशबहादुर पुनमगरले जानकारी दिए । सो गाउँले यसअघि रोल्वाङ मावि जेल्वाङको लागि पनि १६ लाखभन्दा बढी रकम चन्दा सङ्कलन गरेको थियो । 

उक्त स्वास्थ्य चौकीबाट पाँच १० परिवारले नियमित सेवा लिने गरेका छन् । भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकार र सुनछहरी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेका छन् । सरकारले विनियोजन गरेको यो बजेट अपुग भएकाले स्थानीय चन्दा उठाउन बाध्य भएका हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १०:४६
Weather Update