News Griha :: न्यूजगृह
गठ्ठाघर दुर्घटना: माग पूरा नभएसम्म शव नबुझ्ने परिवारको अडान 

काठमाडौं— बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका उत्तम कोइरालाको शव परिवारले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेका छन्।

ट्रक चालक, त्यहाँ खटिएका ट्राफिक प्रहरीहरूलाई पनि कडा कारबाही गर्नुपर्ने आफन्तको माग छ।

मृतक कोइरालाका आफन्त डिल्ली काफ्लेले भने, ‘ट्राफिक प्रहरीकै गल्तीले उहाँको ज्यान गयो, त्यसैले ट्राफिक प्रहरी, ट्रक चालक र सरकारले उचित क्षतिपूर्तिको व्यवस्था नगरेसम्म परिवारहरूले शव नबुझ्ने भन्नु भएको छ, प्रहरी कै गल्तीले यो दुर्घटना भएकाले राज्यले उहाँका छोरीहरूको पालनपोषण पनि गर्नुपर्छ।’ 

हिजो दिउँसो कोइराला सवार बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई  ना ६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो।  ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

मृतक ओखलढुङ्गा घर भई काठमाडौंको कपन बस्दै आएका थिए। ६५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १३:१६
Weather Update