News Griha :: न्यूजगृह
गट्ठाघर दुर्घटनाः ट्राफिकले स्कुटरलाई नरोकेको पुष्टि
दुर्घटना स्थल/तस्बिर: अनलाइनखबर।

काठमाडौं— भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ।

दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो।
प्रत्यक्षदर्शीहरूले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए।

यसबारे बिहीबार नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले दुर्घटनामा परेको स्कुटरलाई ट्राफिकले नरोकेको बताएका थिए। सीसीटीभी फुटेजमा समेत ट्राफिकले स्कुटरलाई रोकेको देखिँदैन।

दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ।

सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेका स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ। स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार पुरुषलाई घिर्सादै ट्रक केही मिटर परसम्म पुगेको देखिन्छ।

त्यसपछि त्यहाँ उभिएका ३ जना मध्ये एक जना ट्राफिक प्रहरी दौडिँदै ट्रकतर्फ अघि बढेको देखिन्छ। एक ट्राफिक दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन्। लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ।

यो दुर्घटनामा परेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ। उनको शव आफन्तले सनाखत समेत गरिसेकेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद बिष्टले बताएका छन्।

स्कुटरलाई ठक्कर दिने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुर्घटनापछिको प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी विष्टको कमान्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गर्नु परेको थियो।

प्रदर्शनका क्रममा एसपी बिष्ट, प्रहरी सहायक हवल्दार बहादुरे राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए। प्रदर्शनकारीले ट्राफिक आइल्यान्ड, प्रहरी बिट, बिटमा रहेको टेबल, ह्‍यान्ड सेटमा समेत क्षति पुर्‍याएका थिए। 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १२:२६
Weather Update