नेप्से तीन वर्षकै उच्च, करिब ३० अर्बको कारोबार
काठमाडौं— साता कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यो कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो।
नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ। सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ। जुन अंक तीन वर्ष (भदौ २०७८) यता कै उच्च हो।
त्यति बेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार घट्दो क्रममा थियो।
आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो।
बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५.६५ प्रतिशत बढ्यो।
त्यसबाहेक विकास बैंक १.२८, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे।
फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशत घटे।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ १५:१७