काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत साउन २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला आठ सय रुपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा भने मङ्गलबार सुनको भाउ प्रतितोला दुई हजार एक सय रुपैयाँ बढेको हो।
मङ्गलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।
सोमबार चाँदी प्रतितोला एक हजार सात सय १५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो।