News Griha :: न्यूजगृह
दिनदहाडै हतियार देखाएर लुटपाट गर्ने तीनजना पक्राउ

काठमाडौं— पोखरामा दिनदहाडै हतियार देखाएर लुटपाट गर्ने तीनजना युवालाई प्रहरीले पक्राउ गरेको छ।

चक्कु देखाएर लुटपाट गर्ने व्यक्तिहरू पोखरा १८ बस्ने ३७ वर्षीय देवन गुरुङ, सोही वडामा बस्ने १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की र तनहुँ ब्यास नगरपालिका ३ घर भइ हाल पोखरा ५ बस्ने १८ वर्षीय अनिश भट्ट रहेका छन्।

तीन जनाको समूहले शनिबार दिउँसो २ बजे पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा बाटोमा हिँडिरहेकी एक युवतीले लगाएको २ तोलाको सुनको सिक्री, नगद १२ हजार र छालाको कालो ज्याकेट लुटेका थिए।

लुटपाट गरेसँगै उनीहरुले सुनको सिक्री पोखरा ४,गणेशटोलमा विकास सुनचाँदी पसल चलाउने नारायणप्रसाद बिक र एसपी मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मालाई बेचेका थिए।

प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका तीन जनाबाट सुनको सिक्री बिक्री गरी आएको एक लाख तीन हजार पाँच सय रुपैयाँ पनि बरामद भएको कास्की प्रहरीको भनाइ छ।

कास्की प्रहरीले लुटपाटमा संलग्नसहित सुन पसल सञ्चालकहरुमाथि पनि डाँका मुद्दा चलाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २२:०३
Weather Update