काठमाडौं— पाँच दिनमा देशभर ७१९ जना डेङ्गु सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार साउन २२ गतेसम्म २३६५ जना सङ्क्रमित रहेकोमा साउन २६ गतेसम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या ३ हजार ८४ जना पुगेको हो।
यो अवधिमा सबैभन्दा धेरै सङ्क्रमित गण्डकी प्रदेशमा १ हजार ८० जना पुगेका छन्। यसैगरी बाग्मती प्रदेशमा ८१३, कोशी प्रदेशमा ५५७ जना, मधेस प्रदेशमा ५४ जना, लुम्बिनीमा २७८, कर्णालीमा ४२ र सुदूरपश्चिम प्रदेशमा क्रमशः २६० जना सङ्क्रमित रहेका छन्।
यसैगरी हाल डेङ्गु सङ्क्रमण फैलिएका १० जिल्लामा तनहुँमा ५८३, काठमाडौंमा ३०७, कास्कीमा १६६, झापामा १३५, चितवनमा १३०, मकवानपुरमा ८४, भोजपुरमा ७५, गोरखामा ७२, काभ्रेमा ७१ र पाल्पामा ७१ जना सङ्क्रमित रहेका छन्।
ईडीसीडीको विवरण हेर्दा अहिले तनहुँ जिल्ला डेङ्गु सङ्क्रमणको रेड जोनमा परेको छ भने पछिल्लो समयमा काठमाडौंमा पनि संक्रमण तीव्र फैलिको देखिएको छ।
हाल तनहुँको सङ्क्रमणदर १८ रहेको छ भने काठमाडौंको सङ्क्रमणदर १० रहेको छ। यो वर्ष डेङ्गु सङ्क्रमणबाट हालसम्म एकजना सङ्क्रमितको मृत्यु भएको छ।