पाँच जिल्लामा फैलियो हैजा, ४७ जनामा सङ्क्रमण पुष्टि
काठमाडौं— देशभर पाँच जिल्लामा हैजा फैलिएको छ। ललितपुर, काठमाडौँ, कैलाली, प्यूठान र रूपन्देहीमा हैजा फैलिएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।
सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ। यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्यूठानका २ र रूपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ।
बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ। पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ।
त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन्।
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ ११:३१