News Griha :: न्यूजगृह
विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा

काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन्।

शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन्।

पछिल्लो समय विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उनको दाबी छ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा बेहोरिरहेकोमा आफू नियुक्त भएपछि त्यसलाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याएको बताए। ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको उनको दाबी छ।

उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत्‌को महशुल बिलको केही अंश भएपनि ४७ अर्ब नाफा महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट आएको विवरण रहेको जानकारी दिए।

उनले भने, ‘आर्थिक वर्ष २०७२/०७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यसपछिको तीन वर्षमा ती दिन फर्केर हेर्नुपरेको छैन। आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले सुरु गरेको गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४६ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ। तर पछिल्लो समय धेरै ठाउँमा विद्युत प्राधिकरणको नाफा कागजी नाफा हो। विद्युत प्राधिकरणले नाफा देखाउनलाई डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुलको बिल गरेर नाफा देखायो भन्ने गरिएको छ। विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई माइनस वा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याउँदा करिव ८२ अर्बको नाफा देखिएको छ। ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन। त्यो नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले भएको होइन।'

उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको दाबी गरे।

उनले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको बताए। उनले अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेको बताए। प्राधिकरणले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढी सकेको उनले बताए।

कार्यकारी निर्देशक घिसिङले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको बताए। उनले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको भन्दै सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहर लगायत विपन्न वर्गका घर परिवारहरूमा विद्युत् पुर्‍याउन निशुल्क मिटर समेत वितरण गरिएको बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १६:२३
Weather Update