उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त एअर डाइनेस्टीको हेलिकप्टर

काठमाडौं— एअर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं विमानस्थलबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको जहाज (९एन–एजेडी) रसुवाको स्याफ्रुबेंसी जाँदै थियो।
जहाजमा क्याप्टेनबाहेक ४ जना चिनीयाँ यात्रु रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौं टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’
दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरेको प्राधिकरणले जनाएको छ।
दुर्घटनामा ५ जनाको शव फेला परेको उद्धारकर्ताहरूले जनाएका छन्। जहाज क्याप्टेन अरुण मल्लले उडाएका थिए।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १५:४८













