
काठमाडौं— नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल र ४ चिनियाँ पर्यटक सवार थिए
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीतर्फ उडेको एअर डाइनेस्टीको नाइन एनएजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।
‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’
मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरीहरू पनि पुगिसकेका छन्।













