News Griha :: न्यूजगृह
प्रजातन्त्र दिवसको दिन छुटेका व्यक्तिले गरे अर्को हत्या, यस्तो छ आपराधिक ट्रयाक रेकर्ड

विराटनगर— मोरङ उर्लाबारी नगरपालिका—४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

मङ्गलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए।

गम्भीर घाइते भएका दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि बीएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो।

दाहालको उपचारको क्रममा त्यही दिन राति मृत्यु भएको थियो।

कार्कीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैँचा नगरपालिका–४ दुलारी चोकमा पक्राउ गरिएको हो। उनी को१ख ६४७१ नम्बरको बसमा थिए। 

तामाङ हत्या आरोपमा जेल परेर छुटेका व्यक्ति हुन्। उनको आपराधिक अभिलेख बारे प्रहरीले जानकारी दिएको छ।

तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ साल असोज ९ गते अदालतले १० वर्ष सजाय तोकेको थियो।

तर, उनी २०७६ सालको प्रजातन्त्र दिवसको दिन छुटेका थिए।

जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना  कैद तोकेको थियो। त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए।

जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागुऔषध मुद्दामा ३ महिना कैद र १ लाख धरौटी तोकेको थियो। त्यो कैद भुक्तान गरी तामाङ छुटेका थिए।

त्यस्तै, अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते उनी एक लाख धरौटी तिर्न नसकेर कारागार मोरङ चलान भए। २५ गते धरौटी तिरेर उनी छुटेका थिए।

प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति बारे अनुसन्धान भइरहेको छ। तामाङलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।  

दाहालको हत्या हुनुमा पुरानो रिसइबी नरहेको बुझिएको प्रहरीले जनाएको छ। त्यसदिन तामाङले दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाएका थिए।

'उनीहरूबीच पुरानो झगडा, रिसइबी  देखिँदैन मोबाइल चोरी भएको विषयमा बोलाएर छलफल गर्ने क्रममा तामाङले दाहालमाथि छुरा प्रहार गरेको बुझिएको छ,' प्रहरी उपरीक्षक कार्कीले बताए। 

घटना भएको अघिल्लो दिन छिमेकी व्यक्ति सञ्जय आचार्यसँग दाहालको झगडा भएको थियो। 

त्यसक्रममा आचार्यले दाहाललाई धम्क्याएको आफन्त टिका दाहालले बताइन्। त्यसको भोलिपल्टै घरबाटै बोलाएर दाहाललाई तामाङले लगेको उनले बताइन्।

घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, मुख्य व्यक्ति तामाङ नै रहेको प्रहरीले जनाएको छ।   

हत्या गरिएका युवक गोपाल दाहालका एक मात्रै छोरा थिए। उनको हत्यापछि परिवार शोकमग्न छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:३४
Weather Update