मोरङ— सुनसरीको दुहबीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मङ्गलबार दुहबीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्धार गरेको थियो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० का ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए। सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ।
बालिकाको ठूलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं गएकी छन्। मङ्गलबार अपहरणपछि बालिकाको मामालाई फोन गरेर सञ्जयले दिदी (बालिकाको ठूलीआमा)लाई फिर्ता बोलाउन भनेका थिए। फिर्ता नबोलाए बालिका अरुलाई नै दिने भन्दै धम्की दिएका थिए।
प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध छ। प्रेमिकालाई विदेश जान दिन उनी तयार थिएनन्।
तर प्रेमिका विदेश जानका लागि काठमाडौं गएपछि सञ्जयले फिर्ता बोलाउन उनको बहिनीको छोरीलाई घरबाटै अपहरण गरेको देखिएको प्रहरीले बताएको छ।
बालिका मङ्गलबार दिउँसो ३ बजेतिर हराएकी थिइन्। बालिका हराएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय दुहबीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्धार गरेको हो।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए। चिनजानकै भएका कारण बालिका पनि उनीसँग सहजै गएकी थिइन्।
पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीले बताएको छ।