
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालय पढ्ने ठाउँ भएकाले विद्यालयमा राजनीति कल्पनासम्म पनि गर्न नसकिने र दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएकाे बताएका छन् ।
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा बिहीबार बिहान गरेको तालाबन्दी फोड्दै मेयर साहले शुक्रबार बिहान विद्यालयमा राजनीति गर्नु अपराध भएकाे बताएका हुन् ।
मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौ । त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ ।’














