
काठमाडौं— अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा बिहीबार बिहान गरेको तालाबन्दी महानगरले हटाएको छ ।
विद्यालयमा राजनीति गर्न नपाएपछि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विभागको विभागीय प्रमुखको कोठामा तालाबन्दी गर्न खोजेको थियो । तर कर्मचारीहरू त्यहाँबाट हट्न नमानेपछि उक्त समूहले कर्मचारी नभएको अर्को कोठामा तालाबन्दी गरेको शिक्षा विभागका एक कर्मचारीले न्यूजगृहलाई जानकारी दिए ।
काठमाडौं महानगरमा मेयर निर्वाचित भएपछि बालेन साहले विद्यालय समयमा शिक्षक तथा कर्मचारीहरूले राजनीति नगर्न निर्देशन दिएका थिए । तर केही दिनअघि महानगरको एक विद्यालयमा विद्यालय समयमै ब्यानरसहित राजनीतिक कार्यक्रम आयोजना गरेको उजुरी शिक्षा विभागमा परेको थियो । त्यसपछि मेयर साहले विद्यालयमा राजनीतिक कार्यक्रम नगर्न र सहभागी नहुन पुनः सूचित गरेका थिए ।
उक्त सूचनाकाे विरोध गरेर अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेकाे ती कर्मचारीको भनाइ छ ।
शुक्रबार महानगरले सामुदायिक विद्यालयमा बुक फ्री (विद्यार्थी पुस्तक नबोकी विद्यालय जाने) कार्यक्रम गर्न लागेको र त्यसका लागि ५३ वटा विद्यालयमा दिने सामान विद्यार्थी संगठनले तालाबन्दी गरिएको कोठामा राखिएकोले पनि सो ताला फोड्नु परेको ती कर्मचारी बताउँछन् ।
शुक्रबार बिहान अखिल (क्रान्तिकारी) र विभागका प्रमुखबीच वार्ता हुने ती कर्मचारीले जानकारी दिए ।













