News Griha :: न्यूजगृह
सत्ता परिवर्तनको असर: सीआईबी प्रमुख श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

ज्ञवालीविरुद्ध छानबिन निर्देशनालयमा उजुरी परेको दाबी गरिएको छ। 

छानबिन निर्देशनालय प्रमुख एसएसपी हुन्छन्। एआईजीमाथि छानबिन गर्न एसएसपी तहको दर्जाले नमिल्ने भएकाले अर्का एआईजी राईको नेतृत्वमा समिति गठन भएको हो।

स्रोतका अनुसार एआईजी ज्ञवालीविरुद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको हो। कतिपय मुद्दा पहिल्यै छानबिन भइसकेको विषयमा पनि उजुरी परेको स्रोतले जनाएको छ।

६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायत विषयहरू छन्।

गत चैतमा सुन तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सीआईबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई मन्त्रिपरिषद् बैठकले सरुवा गरेको थियो।

बज्राचार्यलाई कार्य विभागमा पठाएर सीआईबीमा एआईजी ज्ञवालीलाई ल्याइएको थियो। उनको नेतृत्वमा सुन प्रकरणको दोस्रो चरणको अनुसन्धान सकेर प्रहरीले मुद्दा बुझाइसकेको छ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला एआईजी ज्ञवालीको साढे ४ महिनामै सरुवा भएको भएको थियो।

ज्ञवाली त्यति बेला काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख थिए। ज्ञवालीलाई सरुवा गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए।

अहिले देउवा पत्नी आरजु राणा केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छन्। 

ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १०:५२
Weather Update