News Griha :: न्यूजगृह
सुनसरीका दुई सय चार उद्योग खारेजी

सुनसरी— सुनसरीमा २०८०–८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी दुई सय चार उद्योग खारेजीमा परेका छन्। 

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन्। 

उनले भने, ‘आर्थिक मन्दीको असर भन्दै केही उद्योग बन्द भएको र केही खारेजी गरिएको भए पनि नयाँ उद्योग खुल्ने क्रम चलिरहेको छ।’ 

उनका अनुसार गत आवमा सुनसरीमा पाँच सय ६६ नयाँ उद्योग थपिएका छन्। नयाँ उद्योग थपिँदा कार्यालयले १८ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले उद्योगतर्फ एक करोड एक लाख ७४ हजार दुई सय ६०, वाणिज्यतर्फ एक करोड १२ लाख ५७ हजार पाँच सय ४० र बिक्री आयबाट ७० हजार गरी कूल दुई करोड १५ लाख एक हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख लामिछानेले जानकारी दिए।

गत आवमा सनुसरीमा एक सय २४ साना तथा मझौला उद्योगले पूँजी वृद्धि गरेका छन्। ती उद्योग तथा व्यवसायले ४४ करोड ५३ लाख १३ हजार रुपैयाँ पूँजी वृद्धि गरेका हुन्। गत आवमा घरेलु कार्यालय सुनसरीले दुई करोड १५ लाख एक हजार आठ सय राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ। 

सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ। गत आव २०८०–८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नवीकरण गरेका छन्। उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले ६७ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ। 

गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २१:११
Weather Update