News Griha :: न्यूजगृह
मौद्रिक नीति ०८१/८२ : अर्थतन्त्रलाई थप गतिशील बनाउने

काठमाडौं— मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ।

'वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापुर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ,' नीतिमा भनिएको छ। 

नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरि नियामकीय व्यवस्था गरेको छ। समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्नेगरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादात्म्यता कायम गरिएको गभर्नर अधिकारीले जानकारी दिए।

नेपाली रुपैयाँको भारतीय रुपियाँसँग स्थिर विनिमयदर लाई मौद्रिक नीतिको अङ्कुशका रुपमा यथावत राखिएको छ। मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्नेगरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिनेगरी मौद्रिक व्यवस्थापन गरिनेछ। कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्नेगरि विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य छ। 

भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रुपमा यथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबारमार्फत नीतिगत दरकै हाराहारीमा कायम गर्ने लक्ष्य राखिएको छ।

चालु आवको बजेटमा सरकारले अनुमान गरेबमोजिम छ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुग्नेगरि तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फउन्मुख गर्ने मौद्रिक नीतिको लक्ष्य छ। यस्तै, विस्तृत मुद्राप्रदायको वृद्धि दर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२ दशमलव पाँच प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:२०
Weather Update