News Griha :: न्यूजगृह
काठमाडौं महानगरमा आजदेखि पोलियो अभियान: घर–घरमा पुगेर खुवाइने  

काठमाडौं— काठमाडौं महानगर क्षेत्रमा आजदेखि ५ वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ।

यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविका घर घरमा आउनेछन्। उनीहरूले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने महानगरले जनाएको छ।

नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्ने काठमाडौं महानगरको स्वास्थ्य विभागले मेचीनगरवासीलाई आग्रह गरेको छ। 

वातावरणीय निगरानीका क्रममा भएको नमूना सङ्कलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौंको टुकुचा र बागमती दोभानमा बागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएपची महानगरले पोलियो अभियान सुरु गरेको हो।

२०८१ जेठ १३ गते ढलबाट आएको पानीको नमूना लिइएको र यसको रिपोर्ट २०८१ असार २९ गते आएको महानगरले जनाएको छ।  प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तित भएको पत्ता लागेको हो। 

यसअभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविकासहितको टोली परिचालन हुनेछन्। राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौं महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन्। यी घरहरूमा ५ वर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ। 

विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वडा नं. ६ मा ६ हजार १२ जना बालबालिका छन्। सबैभन्दा कम वडा नं. १ मा ४६२ जना छन्  

पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन–ओपीभी) खुवाइन्छ। यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइ बाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन–आइपीभी) दिइन्छ।  

बालबालिकाहरूका अतिशीघ्र लुलो पक्षघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ। यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन्।

पोलियोको असर ५ वर्षमुनिका बालबालिकामा धेरै हुन्छ। यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने विभागले बताएको छ। 

पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ। ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन्। पोलियोको भाइरस दुषित खाना र दुषित पानीबाट सर्छ। 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:०४
समसामयिक
Weather Update