काठमाडौं— डेडिकेटेड र ट्रङ्क लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ।
बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो।
मङ्गलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो।
आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार लाइन जोडिदिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिएको निर्देशन उनले अवज्ञा गरेका थिए।
त्यसपछि आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई विवाद कायमै रहेको बखत लाइन काट्न नमिल्ने कानुनी व्यवस्था रहेको भन्दै काटिएको लाइन तत्काल जोडिदिन लिखित निर्देशन दिएको थियो।
त्यति गर्दा पनि सोमबारको बोर्ड बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लाइन जोड्न मानेका थिएनन्। तर, मङ्गलबार पुनः बैठक बसेर लाइन जोड्ने निर्णय भएको हो।