News Griha :: न्यूजगृह
औषधिको नाममा अवैधानिक ‘ओआरएस’ ब्राण्डको कार्बोनेटेड पेय पदार्थ फार्मेसीमार्फत निर्बाध बिक्री

काठमाडौं— एग्रो थाई फुड्स प्रा.लि.ले ‘ओआरएस’ नामक ‘कार्बोनेटेड ड्रिंक’लाई अवैधानिक तरिकाले औषधिको रूपमा फार्मेसीहरूमार्फत बिक्रीवितरण गरेको भेटिएको छ । झाडापखाला लागेको बेलामा तत्काल प्रयोग गर्न सकिने भन्दै हाल फार्मेसीहरूले यो पेय पदार्थ बिक्री गरिरहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति लिएर उत्पादन थालेको ‘ओआरएस’ नामक पेय पदार्थले औषधि व्यवस्था विभागबाट कुनै स्वीकृति लिएको छैन । कानुनतः नेपालका फार्मेसीहरूमा औषधिको रूपमा कुनै उत्पादन बिक्रीवितरण गर्नका लागि विभागबाट स्वीकृति लिनैपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनले झाडापखाला लागेको बेलामा प्रयोग गर्ने गरी ‘ओआरएस’–ओरल रिहाइड्रेट सोल्युसन (जीवनजल)को ‘जेनरिक फर्मुला’ बनाएको हुन्छ । त्यो फर्मुलाको सर्वाधिकार विश्व स्वास्थ्य संगठनमार्फत औषधि व्यवस्था विभागले लिएको हुन्छ । विश्वव्यापी रूपमा औषधि उत्पादकहरूले त्यही फर्मुलामा आधारित भएर यो औषधि बनाउनुपर्ने हुन्छ । नेपालको हकमा यसरी बनेको औषधिजन्य उत्पादनलाई औषधि विभागबाट स्वीकृति लिएर मात्र बिक्रीवितरणका लागि बजारमा पठाइन्छ ।

‘अहिले ओआरएस ब्राण्डमा फार्मेसीहरूमा बिक्रीवितरण भइरहेको पेय पदार्थ विभागबाट स्वीकृति प्राप्त होइन । वास्तवमा त्यो पेय पदार्थले जीवनजलको काम पनि गर्दैन । औषधि पसलबाट सो पेय पदार्थ बिक्रीवितरण गर्नु पूर्ण रूपमा गैरकानुनी कुरा हो,’ औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने,‘झाडापखाला लागेको बेलामा सो पेय पदार्थ उपभोग गर्दा बिरामीलाई झन् बढी समस्या देखिन सक्छ ।’ ओआरएस ब्राण्डको पेय पदार्थको उत्पादनमा प्रयोग गरिएका सामाग्रीहरू जीवनजल उत्पादनका लागि तोकिएको मापदण्डभन्दा बाहिर रहेको केसीले बताए ।

विभागले केही दिन अगाडि मात्रै फार्मेसीहरूलाई ओआरएस ब्राण्डको पेय पदार्थ नबेच्नका लागि निर्देशन दिइसकेको छ । यद्यपि, काठमाडौंका अधिकांश फार्मेसीहरूमा यो पेय पदार्थ सहज रूपमा पाइन्छ । यसको उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रालीले पनि मेडिकल र फार्मेसीहरूलाई नै ‘टार्गेट’ गरेर बजारीकरण गरिरहेको छ ।

औषधि व्यवस्था विभागले ओआरएस फर्मुलालाई ब्राण्डको नाम मानेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादन स्वीकृति दिएकोप्रति पनि आपत्ति जनाएको छ । ‘वास्तवमा यो फर्मुला मेडिकल उद्देश्यका लागि मात्रै प्रयोग हुँदै आएको छ र औषधि विभागसँग अनुमति लिएर मात्रै मेडिकल उद्देश्य राखेर गरिएका वस्तुहरू उत्पादन गर्न पाइन्छ,’ केसीले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कुन आधारमा कम्पनीलाई स्वीकृति दियो भन्ने कुरा पनि शंकास्पद छ ।’ विभागले औषधि पसलहरूले सो पेय पदार्थ बिक्रीवितरण गरेको पाइएमा कारबाही गर्ने उनले बताए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा यो पेय पदार्थ ०१–२५–७७–१७–००५ नम्बरमा दर्ता छ । ‘हामीकहाँ कम्पनीले कार्बोनेटेड पेय पदार्थको रूपमा आफ्नो उत्पादनलाई दर्ता गरेको छ । नियमअनुसार नै यहाँ दर्ता भएको देखिन्छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सूचना अधिकारी समिक्षा बन्जाडेले भनिन्, ‘ओआरएस नामक पेय पदार्थ औषधिजन्य उत्पादन होइन ।’

यद्यपि बजारमा औषधिको रूपमा बिक्रीवितरण भएको सन्दर्भमा विभागले सो उत्पादनमाथि आवश्यक नियमन भने गर्ने उनले बताइन् । विभागले ‘आईसी ओआरएस’ ब्राण्डमा सो कम्पनीलाई पेय पदार्थ उत्पादनको अनुमति दिएको उनले जानकारी दिइन् ।

उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रा.लि.ले आफूहरूले नितान्त पेय पदार्थको रूपमा ‘ओआरएस’ ब्राण्डलाई बजारमा ल्याएको बताएको छ । ‘हाम्रो उत्पादन मेडिकलहरूबाट बिक्रीवितरण हुँदा के समस्या भयो र ? हर्लिक्स, भीभा जस्ता खाद्य उत्पादन पनि त फार्मेसीहरूबाट निर्वाध बिक्री भइरहेकै छन्,’ एग्रो थाई फुड्सका कन्ट्री म्यानेजर पवन श्रेष्ठले भने, ‘हाम्रो पनि त्यस्तै हो ।’ जीवनजलको विश्वव्यापी फर्मुला ‘ओआरएस’लाई आफ्नो ब्राण्डको नाम बनाएको सन्दर्भमा भने त्यो कुरा आफूलाई थाहा नभएको भन्दै श्रेष्ठ पन्छिए ।

ओआरएस फर्मुलामा बनेको जीवनजलको जुनसुकै प्रकृतिको उत्पादन (धुलो अथवा झोल)को मूल्य पनि औषधि विभागको मापदण्डअनुसार हुनुपर्ने नियम छ । विभागका अनुसार यस्ता उत्पादन अधिकतम १० रुपैयाँ बढी मूल्य राखेर बेच्न मिल्दैन । तर, एग्रो थाई फुड्स प्रा.लि.ले ‘ओआरएस’ ब्राण्डको आफ्नो उत्पादनलाई ५० रुपैयाँमा बिक्रीवितरण गरिरहेको छ । औषधिको रूपमा त्यो पनि तोकिएको भन्दा पाँच गुणा बढी पैसा लिएर बिक्रीवितरण हुँदा पनि नियामक निकायहरूले भने आँखा चिम्लेर बसेका छन् ।

‘बजारमा जता हेर्‍यो त्यतै ब्रह्मलुट छ । जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्तो खाले उत्पादन आउँदा पनि सरकारी अनुमगन समिति कानमा तेल हालेर बसेको छ । हामीले जति झक्झक्याउँदा पनि सुनेको नसुन्यै गर्छ,’ नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले भने,‘अनुगमन समितिको काम वर्षमा दुई वटा मिटिङ राख्नेमै सीमित छ । राज्यको नियामक निकाय नै फेल हुँदा बजारमा लुटतन्त्र चलेको छ । जुन कुराले उपभोक्ता अत्यधिक मारमा छन् ।’

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.जनकराज शाहले एग्रो थाई फुड्स प्रा.लि.को उत्पादन ‘ओआरएस’लाई स्वीकृति दिएर सरकारले ठूलो गल्ती गरेको बताउँछन् । ‘स्वीकृति दिनु नै गलत हो । अझै त्यसैमाथि बजारमा गलत रूपमा प्रचार गर्दै अवैधानिक तरिकाले विक्रीवितरण हुनु अझै दण्डनीय कुरा हो,’ शाहले भने, ‘एकथरी कागजाग पेस गरेर अर्कोथरी उत्पादन बजारमा ल्याउनु र त्यसको सही नियमन नहुनुले नेपालको उपभोक्तामाथि भएको डरलाग्दो खेलबाडलाई दर्शाउँछ ।’ शाहले यस्ता घटनाप्रति छिटो, छरितो र सही कानुनी कारबाहीका लागि नेपालमा उपभोक्ता अदालत आवश्यक रहेको बताउँछन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १९:३१
समसामयिक
Weather Update