
हेटौँडा— बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्।
नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री जम्कट्टेलका प्रदेश सभामा दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन्। अल्पमतमा परेका जम्कट्टेलको पक्षमा ३० सांसदमात्रै देखिएका छन्।
यो अवस्थामा सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प देखिँदैन। उनको पक्षमा आफ्नै दल नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।
नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले विश्वासको मत नदिने निर्णय गरेका छन्। प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि जम्कट्टेलको विपक्षमा उभिने भएको छ।
असार २४ मा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए।
बागमतीमा अब कांग्रेस र एमालेको सरकार गठन हुनेछ। सत्ता समीकरणको शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व कांग्रेसले गर्ने छ।
११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५६ सांसदको समर्थन आवश्यक रहेकोमा कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन्।
बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्। माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।