News Griha :: न्यूजगृह
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस, सरकारको नेतृत्वलाई लिएर लामा र बानियाँबीच विवाद
नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा। फाइल तस्बिर।

काठमाडौं— नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली कांग्रेस र नेकपा एमालेले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको हो। 

'दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,' लामाले भने, 'कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, हाम्रो पार्टीभित्र मुख्यमन्त्रीका लागि कुनै विवाद छैन।'

नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुनासाथ बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

'मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिनुहुन्छ, उहाँले विश्वासको मत पाउन नसकेपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ,' थपलियाले भने, 'प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुहुन्छ र त्यसलगत्तै हाम्रो दुई दलको तर्फबाट कांग्रेसका नेताले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ।' 

सङ्घीय सरकार निर्माणका क्रममा भएको नयाँ राजनीतिक समीकरणपश्चात बागमती सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वास लिन लागेका छन्। विश्वासको मतका लागि भोलि दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ। 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ।

कुल ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १२, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाका ३ र हाम्रो नेपाल पार्टीका २ जना प्रदेशसभा सदस्य छन्। जसमध्ये कांग्रेस र एमालेले मुख्यमन्त्री कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

राप्रपा पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने मनस्थितिमा छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने कुरामा हामी एकमत रहेको बताए।

प्रदेशसभाका तीन दलले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको प्रदेश सरकार परिवर्तन हुने निश्चितजस्तै छ। 

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि कांग्रेस–एमाले गठबन्धको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भएको कांग्रेस संसदीय दलका नेता लामाले जानकारी दिए।

कांग्रेसभित्र संसदीय दलका नेता लामा र इन्द्रबहादुर बानियाँबीच सरकारको नेतृत्वलाई लिएर विवाद छ। केन्द्रबाट हस्तक्षेप नभए वा दलको नेता परिवर्तन नभएको खण्डमा लामा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको कांग्रेसका प्रदेशसभा सदस्यहरूले बताएका छन्। 

जम्कट्टेललाई माओवादी केन्द्रसहित तीन दलले विश्वासको मत दिने भएका छन्।  मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्र, एकीकृत समजावादी र हाम्रो नेपाल पार्टीले विश्वासको मत दिने भएको हो।

तीनवटा दलको केही दिनअघि बसेको संयुक्त बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको एकीकृत समाजवादीका प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २०:४९
Weather Update