News Griha :: न्यूजगृह
डा इवामुरा अस्पतालको लापरबाहीले बिरामीको ज्यान गयो

भक्तपुर— भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालको लापरवाहीले एक जना बिरामीको ज्यान गएको विषय खुलेको छ। मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान तथ्य खुलेको हो।

जनाइएअनुसार भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा क्यान्टिन सञ्चालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचार अस्पतालमा भएको थियो। असार २५ गतेबाट अस्पतालमा उपचार सुरु गरिएकी बिरामीलाई पछि काठमाडौंको एक निजी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पुनः इवामुरा मै फर्काएर उपचार गरिएको थियो।    

इवामुराले गलत उपचार गरेको र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रिफर नगरी निजी अस्पतालमा पुर्‍याइ फेरि इवामुरामै बिरामी फर्काउन लगाई उपचार गरेकाले बिरामीको ज्यान गएको आरोप आफन्तको छ। 

दुई बच्चाकी आमा सुनारको मृत्यु भए पश्चात् मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भनी शव बुझ्न नमान्दा अस्पताल प्रशासन र आफन्तबीच प्रहरी प्रशासनको रोहबरमा वार्ता भएको थियो। जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पीडित परिवारलाई ६ लाख रुपैयाँ दिन र मृतकका २ बच्चालाई उच्च शिक्षासम्म पढाइको व्यवस्था गरिदिन अस्पताल मन्जुर भएको थियो। गल्ती स्वीकार गरी सहमति भएको भनिए पनि त्यो विषय अहिले मात्रै खुलेको हो। सहमतिपछि परिवारले शव बुझेको थियो।

अस्पताल व्यवस्थापक राजुमृगेन्द्र जोशीले डाक्टरको लापरबाहीले मृत्यु नभएको स्पष्ट पारे। उपचारका लागि अर्को अस्पतालमा रेफर गरिएको तर खर्च अभावमा आफ्नै अस्पतालमा ल्याएर उपचार भइरहेको उनले जनाए। 

केही समय अघि पनि आफै हिँडेर सोही अस्पताल पुगेका भक्तपुर नगरपालिका वडा नं ७ की ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको पनि अस्पतालको लापरवाहीले मृत्यु भएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १९:०५
Weather Update