काठमाडौं— नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि मङ्गलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार रुपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।
मङ्गलबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।