News Griha :: न्यूजगृह
पर्वतमा बढ्न थाले एचआईभी सङ्क्रमित

पर्वत— सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा वर्षेनी विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन। 

जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआईभी एड्सका १३ र कुष्ठरोगका छ जना नयाँ बिरामी थपिएका छन्। 

चालु आवको सुरुदेखि हालसम्म उक्त सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए। उनका अनुसार अनुसार आव २०७९–८० मा क्षयरोगका कूल ७७ जना नयाँ बिरामी फेला परेकामा चालु आवमा उक्त यो सङ्ख्या घटेर ५५ मा झरेको हो। 

थपिएका बिरामीमध्ये मोदी गाउँपालिकामा छ, जलजला र महाशिला गाउँपालिकामा दुई–दुई, कुश्मा नगरपालिकामा १५, फलेवास नगरपालिकामा चार, बिहादी गाउँपालिकामा पाँच र पैयुँ गाउँपालिकामा २१ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। 

क्षयरोगको सङ्क्रमणले फोक्सोलाई असर गर्ने र यो हावाका माध्यमबाट सर्ने भएकाले बिरामीले खोक्दा, हाछ्युँ गर्दा वा थुक्दा ध्यान पु¥याउनुपर्ने शर्माले बताए। उनका अनुसार यसको कुनै पनि शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्दछ। 

जिल्लामा भेटिएका सङ्क्रमितलाई नियमित रूपमा औषधि सेवन गराइएको भन्दै शर्माले लगातार छ महिनासम्म औषधि खाए रोग पूर्ण रूपमा निको हुने जानकारी दिए। 

‘स्वास्थ्य संस्थामा औषधि निःशुल्क पाइन्छ, तर लापरबाही गरेर बिचमा औषधि छाड्ने वा भाग्ने गरेमा निको हुदैन। यस्तो अवस्थामा अरूलाई रोग सारेमा अरूलाई पनि औषधिले काम नगर्ने गरी सङ्क्रमण फैलिने जोखिम हुने भएकाले सङ्क्रमितले नियमित औषधि सेवन गर्न अनुरोध गर्दछौँ,’ उनले भने। 

जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म एक सय १२ जनामा एचआईभी एड्सको सङ्क्रमण रहेकामा चालु आवमा १३ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिललामा सङ्क्रमितको सङ्ख्या एक सय २५ पुगेको छ। थपिएकामध्ये जलजला गाउँपालिकामा एक, कुश्मा नगरपालिकामा पाँच, फलेवास नगरपालिकाका चार र पैयुँ गाउँपालिकामा तीन जना छन्।

एचआईभीको लक्षण देखिएका कोही पनि खुलेर नआउने भन्दै पुष्टि भएकाहरूलाई घरमा लगेर औषधि दिने गरिएको कार्यालयका प्रमुख शर्माले बताए। विभिन्न सङ्घसंस्थाले पनि एचआईभी एड्सको न्यूनीकरणमा काम गर्दै आएका छन्। 

यसैगरी यसवर्ष मोदी गाउँपालिकामा एक, जलजला गाउँपालिकामा चार र फलेवास नगरपालिकामा एक जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन्। आव २०७९–८० मा मात्रै जिल्लामा १५ जना कुष्ठरोगका बिरामी फेला परेकामा  अहिले यो सङ्ख्या केही घटेको पाइएको शर्माले जानकारी दिए।  

कुष्ठरोगको औषधि पनि सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएकाले सबैले नियमित औषधि सेवन गर्नुपर्नेमा उनले जोड दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:३४
Weather Update