News Griha :: न्यूजगृह
विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्यो 

काठमाडौं— चालु आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीतिदर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन्। 

त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ। विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति गत जेठमा चार दशमलव १७ प्रतिशत रहेको थियो। खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७६ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९४ प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ४८ प्रतिशत छ।

गत जेठ मसान्तसम्ममा समीक्षा अवधिमा चालु खाता दुई खर्ब ३९ करोडले बचतमा रहेको छ भने पुँजीगत ट्रान्सफर पाँच अर्ब ४६ करोड कायम भएको छ। यो अवधिसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब १६ करोडले धनात्मक रहेको छ। 

यो अवधिसम्ममा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ।

विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको ११ महिना अवधिमा २७ दशमलव ८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ। आर्थिक वर्ष २०८०–८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ। चालु आवको जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख २२ हजार नौ सय ३६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ६२ हजार सात सय पाँच रहेको छ। यो अवधिमा आयात एक दशमलव आठ, निर्यात तीन र कूल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले घटेको छ।

जेठ मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले वृद्धि भएको छ। 

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव एक प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव छ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर पाँच दशमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:३७
Weather Update