News Griha :: न्यूजगृह
बीवाईडी नेपाल बिक्रेता साइमेक्सले ५४ करोड कर छलेको आशंका, अनुसन्धान सुरु
बीवाईडी एटो–३

काठमाडौं— राजश्व अनुसन्धान विभागले विद्युतीय सवारी बीवाईडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो–३ को आयातमा ५४ करोड रुपैयाँभन्दा बढी कर छलेको आशंका गरेको छ।

विभागले आयातसम्बन्धी कागजपत्र झिकाएर अनुसन्धान गरिरहेको जनाएको छ। 

साइमेक्सले चीनमा बनेको एटो–३ को १५० किलोवाटको सवारीसाधनको भन्सार शुल्क आर्थिक ऐन २०८० अनुसार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत गरी ४० प्रतिशत तिर्नुपर्नेमा १०० किलोवाटको १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क तिरेर भन्सार छलेको आशंका विभागले गरेको छ। 

१ हजार वटा गाडीमा साइमेक्सले करिब ५४ करोड १५ लाख रुपैयाँ भन्सार छलेको आशंकामा अहिले प्राविधिक अनुसन्धान भइरहेको विभागले बताएको छ।

‘वीवाईडीको कागजात प्रतिनिधिका रूपमा अनुसन्धान भइरहेको छ,’ विभाग स्रोतले भन्यो, ‘वीवाईडीमा फल्ट भेटिएमा अन्य कम्पनीमाथि पनि अनुसन्धान हुन्छ ।’

के हो विभागको आशङ्का ?

विशेषगरी चिनियाँ विद्युतीय सवारी आयातकर्ताले उत्पादनकर्ता मुख्य कम्पनीसँगको मिलोमतोमा मोटर पिक पावर र क्षमता घटाएर सवारी आयात गरेको विभागको आशङ्का छ।

चीनमा १५० किलोवाट मोटर पावर क्षमता भएको सवारी नेपालमा ल्याउँदा १०० किलोवाट वा योभन्दा कम रहेको भन्दै आयातकर्ताले भन्सार जाँचपास गरिरहेका छन्।

अनुसन्धानका क्रममा मोटर पिक पावर र क्षमता घटाएर भन्सार जाँचपास गरेको पुष्टि भएमा १५ अर्बदेखि २० अर्ब रुपैयाँसम्म कर छलेको प्रमाणित हुने अनुसन्धानमा संलग्न कर्मचारीहरू बताउँछन्।

उत्पादनकर्ता कम्पनीले १५० किलोवाट मोटर पिक पावरमा उत्पादन भइरहेको सवारीको भन्सार जाँचपास गर्दा बुझाउने कागजात १०० किलोवाट पिक पावरको हुन्छ।

मोटर पिक पावर १५० किलोवाटमा भन्सार जाँचपास गर्दा २० प्रतिशत भन्सार महशुल र २० प्रतिशत अन्तःशुल्क गरी कुल ४० प्रतिशत राजस्व सरकारलाई बुझाउनुपर्छ।

सोही मोडलको सवारीको नक्कली कागजात बनाएर १०० किलोवाट मोटर पिक पावर बनाएर भन्सार जाँचपास गर्दा १५ प्रतिशत भन्सार महशुल र १० प्रतिशत अन्तःशुल्क बुझाए पुग्छ।

आर्थिक ऐन २०८० को व्यवस्था बमोजिम १५० किलोवाट क्षमताको र १०० किलोवाट क्षमताको सवारी जाँचपास गर्दा १५ प्रतिशतको भन्सार शुल्क अन्तर आउँछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २१:५०
Weather Update