News Griha :: न्यूजगृह
काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित  

काठमाडौं— आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि काठमाडौं महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको छ। 

आज बसेको काठमाडौं महानगरको नगरसभाको १५औँ अधिवेशनअन्तर्गत ५औँ बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो।

महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर बालेन शाहले घोषणा गरेका थिए। 

गत असार १० गते काठमाडौं महानगरले आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको थियो।

यसअघि मेयर बालेन र कार्यपालिका सदस्यहरुबीचको टकरावका कारण नगरसभा बैठक नै स्थगित भएको थियो।  

आज मेयर शाहले नगर सभाका सदस्यहरूले प्रस्तुत गरेको बजेटको संशोधनलाई सकेसम्म समेट्ने गरी बजेटलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई नगरसभाले सर्वसम्मत पारित गरेको हो। 

महानगरले आगामी आर्थिक वर्षका लागि सबैभन्दा धेरै पूर्वाधार विकासमा खर्च गर्ने लक्ष्य राखेको छ। उपप्रमुख सुनिता डंगोलका अनुसार महानगरले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट छुट्टयाइएको छ। जुन कुल बजेटको ६१ दशमलव २० प्रतिशत हो। 

त्यसैगरी महानगरले आगामी आर्थिक वर्षमा कार्र्यलय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार अर्थात् कुल बजेटको १४ दशमलव ४४ प्रतिशत बजेट छुट्टयाएको छ। 

त्यस्तै आर्थिक विकास योजनाका लागि १९ करोड १ लाख बजेट छुट्टयाइएको छ।  साथै सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब, ८१ करोड ३६ लाख १५ हजार तथा सुशासन एवं अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट छुट्टयाइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १९:०१
Weather Update