News Griha :: न्यूजगृह
धारिलो हतियार प्रहार गरी विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

काठमाडौं— विराटनगरमा एक युवकको हत्या भएको छ। दुई जना गम्भीर घाइते छन्। मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए।

घाइतेमध्ये मोरङकै कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो। कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन्।

मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको एसपी कार्कीले बताए। ‘सानो चोट देखिन्छ तर भित्रसम्म चोट परेकाले मृत्यु भएको जस्तो देखिन्छ,’ उनले भने,‘ घाइतेको शरीरमा पनि धारिलो हतियारले घोपेको चोट छ।’

घाइते रायको अवस्था गम्भीर छ। उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ। मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ।

उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। तर उनीहरूको नाम भने प्रहरीले खुलाउन चाहेन। ‘हामी थप अनुसन्धानकै क्रममा छौँ। विस्तृत विवरण पछि सार्वजनिक गर्छौं,’ एसपी कार्कीले भने।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:१०
Weather Update