News Griha :: न्यूजगृह
‘नेपाली पात्रो’ गूगल प्ले स्टोरमा १ करोड पटक डाउनलोड 

काठमाडौं— नेपालको पहिलो बिक्रम सम्बतमा आधारित चर्चित मोबाइल एप ‘नेपाली पात्रो’ गूगल प्लेस्टोरमा १ करोड पटक डाउनलोड पूरा गर्न सफल भएको छ। 

‘नेपाली पात्रो’ नेपाली तिथीमिती, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव, सबै पर्वहरु, विभिन्न जातजाति, भाषाभाषीका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको पहिलो  डिजिटल पात्रो हो।

‘नेपाली पात्रो’मा रेडिओ, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्यसूची, ज्योतिष, राशिफल जस्ता आज जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरु समावेश छन्। साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने ‘नेपाली पात्रो’ गूगल प्ले स्टोरमा ४ दशमलव ३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिन्छ। 

नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडिओहरूबाट सूचना, जानकारीमूलक तथा मनोरन्जनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्की जानाकारी दिए। 

त्यसैगरी विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजारभाउ, आदीजस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ। 

दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोड माथि रहेको छ। नेपालमा पहिलो पटक, नेपाली रेडिओबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ। 

सम्बन्धित रेडिओको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडिओमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ। 

यसको लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ।

नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्युजपोर्टल र  ३५० भन्दा बढी रेडिओ समेत जोडिएका छन्। नेपाली पात्रो नेपालको सबभन्दा धेरै सञ्चार नेटवर्क भएको नेपाली एप्लिकेसन हो। हालै सर्वाधिक लोकप्रिय केबल डिस्ट्रिब्यूसन नेटवर्क नेट टिभीमा पनि नेपाली पात्रोमा उपलब्ध रेडिओ सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:२८
Weather Update