
काठमाडौं— सीमावर्ती क्षेत्रबाट हुने तस्करीमा संलग्नलाई सघाएको आरोपमा मोरङका सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन्।
स्राेतकाअनुसार विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट हुने तस्करीमा संलग्नलाई सघाएर असुली गरेको आरोपमा उनलाई हेडक्वार्टर तानिएको हो।
उनी गत फागुन पहिलो साता मोरङमा हाजिर भएका हुन्। भन्सार छली गरेर नेपाल भित्र्याइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप उनीमाथि लागेको छ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी कुमार न्यौपानेले केही कुरा बुझ्नुपर्ने भएकाले एसपी खड्कालाई हेडक्वार्टर झिकाइएको जानकारी दिए।
एक महिना अघि भारतबाट तस्करी गरी ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। भन्सार छली गरेर ल्याइएको उक्त चिनी विराटनगरका व्यापारी विनोद केशरीको थियो।
बरामद चिनी र तस्करीमा प्रयोग भएको गाडी एसपी खड्काले कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा नबुझाई मोटो रकम लिएर त्यत्तिकै छाडिदिएको आरोप रहेको छ।
एसपी खड्काले भने तस्करीमा संलग्नलाई सघाएको आरोप अस्वीकार गरेका छन्।