काठमाडौं— एक महिनाको अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ। आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ। यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ।
नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ (मे २०) कै रेकर्ड तोड्न सकेको छैन। सो दिन अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४२६ डलर पुगेको सुन आज २३९१ मा छ। यहाँ जेठ १५ गते बजेटले सुनको भन्सार दर बढाएपछि जेठ २५ गते नै त्यसअघिका सबै रेकर्ड तोडिएको थियो।
त्यस्तै चाँदीको भाउ आइतबार तोलामा २० रुपैयाँ बढेको छ। शुक्रबार प्रतितोला १ हजार ८७० रहेकोमा आइतबार १ हजार ८९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।