
पाँचथर— पाँचथरमा एक युवकको हत्या भएको छ। फिदिम नगरपालिका— १४ मा का ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गएराति युवाहरुको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारका क्रममा शुक्रबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको हो।
स्थानीय धनकुमार राईको घरमा धामीझाँक्रीको नाच हेर्न गएको बेला दिनेशसहित उनका साथीहरु पर्शुराम राई, ध्रुव राई र पुष्कर विकमाथि कुटपिट भएको थियो। उनीहरूलाई स्थानीय २० जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी विनालाल साहले जानकारी दिए।
कुटपिटबाट ध्रुव, पर्शुराम र पुष्कर पनि घाइते छन्। ध्रुवको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। युवाहरूबीच झगडाको कारण नखुलेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्नहरू फरार छन्।
घटनामा संलग्नको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी रानीटार र पौवासारतापबाट टोली परिचालन भएको जनाइएको छ ।













