News Griha :: न्यूजगृह
क्याम्पस प्रमुख हत्या प्रकरणः थप एक आरोपित पेस्तोल र गोलीसहित पक्राउ
पक्राउ परेका हरिहर महरा चमार। तस्बिर: बारा प्रहरी।

काठमाडौं — बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराकै बारागढी गाउँपालिका वडा नम्बर ५ पथरा टोलका हरिहर महरा चमार रहेको जिल्ला प्रहरी कार्यालय, बाराले मङ्गलबार विज्ञप्ति जारी गर्दै जनाएको छ।

४२ वर्षीय महराको साथबाट कटुवा पेस्तोल एक थान, चेम्बरमा एक थान गोली भएको मेड इन यूएस लेखिएको एउटा पेस्तोल र अटोमेटिक पेस्तोलमा लाग्ने म्यागजिन एक थान बरामद भएको प्रहरीको दाबी छ। हत्यामा प्रयोग भएका यी हतियार उनले गाडीभित्र लुकाइराखेको अवस्थामा फेला पारिएको थियो।

gun-goli-1719933306.jpg
महराको साथबाट बरामद हतियार र गोली। तस्बिर: बारा प्रहरी।  

पक्राउ परेका महरालाई जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि असार ११ गते पनि सात जनालाई पक्राउ गरेको थियो।

विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूको साथबाट ६ राउन्ड गोलसमेत बरामद गरिएको थियो। बाराको आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहको गोली प्रहारबाट गत जेठ ३२ गते क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो।

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २०:४०
Weather Update