
काठमाडौं— नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
सोमबार धितोपत्र बोर्डको अध्यक्षका लागि प्रत्यासी रहेका सन्तोषनारायण श्रेष्ठले रिट दायर गरेका हुन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन गरिएको थियो। उक्त समितिले गत शुक्रबार अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको सूचना जारी गरेको थियो।
रिट निवेदक श्रेष्ठले अध्यक्ष छनोट प्रक्रिया रद्द गर्नु कानुनसंगत नभएकाले त्यसलाई यथास्थानमा रहन दिई प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै रिट दायर गरेका हुन्।
धितोपत्र ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।
सर्ट लिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणको लागि उपस्थित भएपनि डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाई र कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित भएका हुन्। सोही कारण देखाउँदै समितिले छनोट प्रक्रिया रद्ध गरेको थियो।













