News Griha :: न्यूजगृह
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द 

काठमाडौं— धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरिएको छ। 

शुक्रबार अर्थमन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको जानकारी गराएको हो। 

बोर्डको अध्यक्ष नियुक्त गर्नका लागि गठित सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो। 

गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ। 

‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१–०३–१४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०–११–१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको व्यहोरा सम्वद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।  

धितोपत्र ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।

सर्ट लिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणको लागि उपस्थित भएपनि डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाई र कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित भएका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १७:३४
Weather Update