News Griha :: न्यूजगृह
स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने तयारीमा स्वास्थ्यमन्त्री यादव 

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन्। 

सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौँ। प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको छ। उहाँले केही कम गरेर कार्यान्वयन गर्न लगाउछु भन्नु भएको छ। प्रधानमन्त्रीबाट यो कुराको पुष्टि भएको छ। ६० हजार मात्र जनशक्ति थप्न पाए नि हुन्छ। काम गर्न पनि सहज हुन्छ। जनशक्ति र उपकरण भएन भने कसरी सेवा दिने?’

मन्त्री यादवले आफूले जे बचन दिएको छ त्यो पूरा गरेर देखाउने बताए। ‘यसअघिका कुन मन्त्रीले के गर्नुभयो, म त्यसको पछि लाग्दिन। तर म काम गरेर देखाउँछु,’ उनले भने।

सरकारबारे बाहिर राजनीतिक हल्ला चलिरहेको भन्दै उनले सरकारको आयुको ग्यारेन्टी नहुने अनि मन्त्रीको के ग्यारेन्टी हुन्छ? भन्ने प्रश्न गरे। ‘राजनीतिले मलाई कुनै फरक पर्दैन। म काम गर्न आएको हो म जति दिन बस्छु, सुझाव, सल्लाह लिएर काम गर्छु,’ उनले भने। 

यतिबेला काम गर्ने समय आएको उल्लेख गर्दै परिणाम नै दिनेगरी र जनतालाई निराश नबनाउनेगरी काम अघि बढाएको उनको दाबी थियो। 

उनले नेपालको आयुर्वेद क्षेत्र सुस्ताएकोप्रति गुनासो गरे। ‘आयुर्वेद सुतिसकेको थियो। वैद्यखाना पनि लोप भएको छ, त्यसलाई जगाउन कोशिस गरिरहेको छु। साउन कट्न दिनु काम सुरु भएको छ कि छैन देखाउन सक्छु। युवा छु युवामाथि त विश्वास गर्नुस,’ उनले भने। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:२२
Weather Update