धनुषा—मधेस आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका यादवलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेस गरेको छ।
पक्राउ परेका यादवलाई प्रक्रिया पूरा गर्न अदालतमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए। यादवको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राखेको छ। सोही मुद्दामा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी जिल्ला अदालतबाट सफाइ पाइसकेका छन्।
२०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो।
जिल्ला अदालतले मधेस आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई बिकको हत्या मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्म कैदको सजाय तोकिएको छ।
उक्त मुद्दामा जिल्ला अदालतले प्रदिप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई जन्म कैद सजाय तोकेको छ।
जन्म कैद सजाय पाएका ७ जनामध्ये प्रदिप र सञ्जय ८ वर्षदेखि थुनामा छन् भने जिल्ला अदालतले सजया तोकेका अन्य फरार छन्।