News Griha :: न्यूजगृह
चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण

चितवन— चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ। 

गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो।  

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु संक्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेंगु संक्रमित फेला परेका हुन्। 

संक्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका रहेका छन्। ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेंगु संक्रमण देखिएको केसीले जानकारी दिए।  

यस्तै, ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका तीन सय ६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। एकजनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताए। सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेंगु संक्रमण देखिएको छ। खैरहनी नगरपालिकामा एक सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा दुई सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। 

डेङ्गु रोग डेंगु संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो। यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने,  खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगु संक्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:००
Weather Update