News Griha :: न्यूजगृह
बझाङको बित्थडचिरस्थित सुनकुडामा निःशुल्क स्वास्थ्य शिविर, स्थानीयमा खुसीयाली 

बझाङ— विकट जिल्ला बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम अन्तर्गत बित्थडचिर गाउँपालिका–९ मा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म  सञ्चालन गरिएको शिविरमा स्त्री तथा प्रसूति रोग सम्बन्धि सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा साथै आँखा सम्बन्धी रोगको परीक्षण र उपचार गरिएको हो। 

बित्थडचिर गाउँपालिका वडा नं ९ का वडाध्यक्ष एवं प्रवक्ता हरिषचन्द्र जोशीका अनुसार स्वास्थ्य शिविरबाट २७१ महिला र ७८ पुरुष गरी ३४९ जनाले सेवा लिएका छन्। 

pressure-check-1719738960.jpg
बित्थडचिर गाउँपालिका वडा नं ‌९ को आयोजना र नोभा हस्पिटल प्रालि धनगढी र सुदृष्टि आँखा केन्द्र धनगढीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो।  

उपचारको अभावमा सामान्यदेखि जटिल रोगका समेत बिरामीहरु रोग लुकाएर बस्न बाध्य रहेका थिए। साथै उपचार नै गर्न चाहनेहरु पनि धनगढी, काठमाडौं लगायतका स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता रहेको प्रवक्ता जोशीले बताए। 

सामान्य सेवा लिन धनगढीदेखी काठमाडौंसम्म पुग्नुपर्ने बाध्यतामा रहेकोमा सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरहरुबाट उपचार गराउन पाउँदा स्थानीयहरु खुसि रहेको उनले बताए। 

‌शिविरमा निःशुल्क औषधि वितरण, सुगरप्रेसर जाँच, आँखा जाँच, पाठेघरको मुखको चेकजाँच, दन्त सेवा ,वाथ रोग, ग्यास्टिक,नशा  हाडजोर्नी तथा नशा रोग,नाक कान घाँटी चेकजाँच लगायत सेवा प्रदान गरिएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:०१
Weather Update