News Griha :: न्यूजगृह
भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ, के थियो बादल पुत्रको भूमिका?

काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार उनी शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिएको पुष्टि गरे। प्रहरीको खोजी सूचीमा रहेका उनी फरार रहँदै आएका थिए।

बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए। तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो।

भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो।

कार्यदलको प्रतिवेदनमै नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो। त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहले तत्कालीन गृहमन्त्रीसमेत रहेका बादल पत्नी नैनाकला थापालाई रकम बुझाएको जिकिर गरेका थिए।

ठगी धन्दामा संलग्न मुख्य योजनाकार मध्येका केशवप्रसाद दुलालले नैनाकलालाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर रकम बुझाएको बयान दिएका थिए।

सानु भण्डारीले क्वार्टरमा लगेर नैनाकलालाई रकम बुझाएको कुरा नक्सालस्थित निलगिरी थकाली भान्सा घरबाट छोरा प्रतीक थापाले फोन गरेर ‘भेरिफाइ’ गरेको दुलालले बताएका थिए। 

उनका अनुसार थकालीबाट नैनाकला थापालाई प्रतीक थापा मगरले फोन गरेर सोधेका थिए, ‘आमा १ करोड रुपैयाँ पाउनुभयो कि भएन ?’

नैनाकलाले पैसा ‘रिसिभ’ गरेको जानकारी दिएपछि प्रतीकले गिरोहका सदस्यहरूलाई भनेका थिए, ‘मेरी आमाले सानु भण्डारीसँगबाट रकम लिनुभयो।’ 

शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका थिए। 

प्रहरीले एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

सो प्रकरणमा रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमै छन् भने खाण रिहा भइसकेका छन्। यस्तै निलम्बित सचिव टेकनारायण पाण्डेलगायत थुनामा हुँदा अन्य केही भने धरौटीमा रिहा भएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २०:१३
Weather Update